महोत्तरी, १९ मंसिर । महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिरामी बोकेर अस्पतालतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबै महिला तथा नाबालक रहेका छन् ।

दुर्घटनामा घाइते भएकी रामगोपालपुर–९ की २४ वर्षीया बिनितादेवी यादवको अवस्था गम्भीर रहेको जनाइएको छ । शरीरका विभिन्न अंगमा चोट लागेकाले उनलाई जनकपुरधामस्थित जनकपुर न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।

बिनिताका दुई महिनाकी छोरी र ३० वर्षीया जेठानी दिदी रानीदेवी यादव पनि घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँकी २५ वर्षीया प्रियंका देवी तथा उनका १८ महिनाका छोरा रीतिक र ६० वर्षीया सासुआमा श्रीमती देवीसमेत घाइते भएका छन् ।

जनकपुरधामस्थित जानकी एकेडेमी हस्पिटलबाट मान्छे बोकेर पर्सातर्फ जाँदैगरेको ना अ प ९८ नम्बरको अनटेस्ट एम्बुलेन्स आइतबार राति साढे १० बजे महोत्तरीको मनरासिसवा –३ भोलही नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

एम्बुलेन्सलाई इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनालगत्तै चालक फरार छन् ।