काठमाडौं, १८ मंसिर । मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै विगत केही समयदेखी मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोति जस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने जनाएको छ ।

विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर–संबैधानिक तथा गैर–कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पुर्याउन सक्ने जनाएको छ ।आयोगले मधेशी समुदायले नै मुख्यतः सिमाको रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरुबाट पीडित हुनुपर्ने कुराप्रति चिन्ता व्यक्त गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका सदस्यहरुबाट यस्ता संवेदनशील घटनाहरुको अनुगमन हुने गरेको र सो घटनाप्रति आयोगले तुरन्त सम्बन्धित निकायलाई यथाशिघ्र छानविन गरी दोषीलाई कडा कारवाही गर्न सिफारिस समेत गरिरहेको जनाएको छ ।

आयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको छ ।
आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरुबाट दिन समेत अनुरोध गरेको छ ।