रौतहट, १८ मंसिर । रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।एक क्वीन्टल ८० किलो गाँजासहित प्रहरीले ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले गौर नगरपालिका–३ स्थित कुखुरा फर्ममा छापा मारेर सो गाँजा बरामद गरेको एसपी वीरबहादुर ठाडा मगरले जानकारी दिए ।

गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१–००६–ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा–३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतानलाई नियन्त्रणमा लिइएको एसपी मगरले बताए ।

कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया हालसम्म फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।