मैथिली साहित्यकार सभाले तीन बुँदे मागसहित रेल्वे कम्पनीलाई बुझायो ज्ञापनपत्र

जनकपुरधाम, १७ मंसिर । मैथिली साहित्यकार सभाले तीन बुँदे मागसहित नेपाल रेल्वे कम्पनीलाई ज्ञापनपत्र बुझाएको छ ।
शनिबार नेपाल रेल्वे कम्पनी लिमिटेडको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा मैथिली साहित्यकार सभाद्वारा ज्ञापनपत्र बुझाइएको हो ।
सभाका सभापाल प्रेम विदेह ललनले प्रत्येक स्टेशनको नाम मिथिलाक्षरमा लेख्नुपर्ने, स्टेशन र रेलमा लिखित सूचना मैथिली भाषामा पनि लेख्नुपर्ने तथा मैथिलिमा समेत सूचना प्रसारण गर्नुपर्नेलगायतका तीन बुँदे माग प्रस्तुत गरेका छन् ।
सभापाल ललन एवम् कार्यपाल अरविन्द कुमार यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रेम विदेह र मनोज प्रेमेशले संयुक्त रूपमा प्रबन्धक झालाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक झाले स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने नेपाल सरकारको नीति रहेकोले आफूले पनि त्यसअनुरुप काम गर्ने बताए । उनले मैथिली साहित्यकार सभाले बुझाएको ज्ञापनपत्रमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यसलाई सकारात्मक रुपले लिएकोले यसमाथि यथाशीघ्र पहल गर्ने आश्वासनसमेत दिए ।
यसअघि २०७६ सालमा रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय (जनकपुरधाम), रेल विभाग (ज्ञानेश्वर) तथा भौतिक पूर्वाधार यातायात मन्त्रालय (सिंहदरबार)मासमेत मैथिली साहित्यकार सभाद्वारा ज्ञापनपत्र पठाइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


