काठमाडौं, १५ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार राति एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२ः३० बजे निधन भएको हो ।

ब्याडमिन्टन संघको अध्यक्ष समेत रहेका स्वर्गीय सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव थिए । सिंह ६ पटक राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन भए ।

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र शुक्रबार उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि ताहाचल स्थित घरमा लगेर शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय सिंहका श्रीमती र एक छोरी छन् ।