यातायात कार्यालय जनकपुरधाममा दलालको रजगज, सेवाग्राही झ्यालबाहिरै अलपत्र
जनकपुरधाम, ०७ असोज । सवारी चालक अनुमतिपत्र तथा यातायातसम्बन्धी सेवा लिन जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय पुग्ने सेवाग्राहीले कार्यालयभित्रै दलालको दबदबा रहेको गुनासो गरेका छन् ।
सेवा लिन कार्यालय पुगेका सर्वसाधारण लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था रहे पनि दलालमार्फत आउने व्यक्तिको काम भने सहज रूपमा हुने गरेको उनीहरूको आरोप छ ।
कार्यालयको सेवा कक्षदेखि विभिन्न शाखासम्म दलालको पहुँच देखिने गरेको सेवाग्राहीको भनाइ छ । सर्वसाधारण सेवाग्राही झ्यालबाहिर लाइनमा बसेर आफ्नो पालो कुर्न बाध्य भइरहेका बेला दलालहरू भने कार्यालयभित्रै प्रवेश गरी कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गरेर काम गराउने गरेको दृश्य देखिने गरेको छ ।
कार्यालयमा सेवा लिन पुगेका रामकुमार यादवले आफू बिहानैदेखि लाइनमा बसे पनि आफ्नो पालो आउन निकै समय लागेको बताए । तर, आफूभन्दा पछि आएका केही व्यक्तिले कार्यालयका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गरेर कागजात बुझाउने र काम गराउने गरेको उनले बताए ।
‘हामी सर्वसाधारण लाइनमा घण्टौँ उभिनुपर्ने, तर चिनजान भएका वा दलालमार्फत आएका मानिसहरू सिधै भित्र गएर काम गराउने अवस्था छ,’ उनले भने ।

त्यस्तै, कविता साहले आफूलाई कार्यालयको प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट जानकारी नहुँदा पटकपटक कार्यालय धाउनुपरेको बताइन् । उनका अनुसार कार्यालयमा सेवाग्राहीलाई प्रक्रिया बुझाउनेभन्दा पनि दलालमार्फत काम गराउन प्रोत्साहन हुने वातावरण देखिएको ।
‘कुन शाखामा जाने, कुन कागज चाहिन्छ भन्ने कुरा बुझ्नै गाह्रो हुन्छ । दलालसँग गएपछि सबै काम छिटो हुन्छ भन्ने कुरा यहाँ आउनेबित्तिकै सुनिन्छ,’ उनले भनिन् ।
यातायात कार्यालयमा देखिने यस्तो अवस्थाले सरकारी सेवा लिन आउने सर्वसाधारण र बिचौलियामार्फत सेवा लिन खोज्नेहरूबीच असमान अवस्था सिर्जना गरेको सेवाग्राहीको गुनासो छ ।
कार्यालय परिसरमा खुलेआम रूपमा दलालको गतिविधि हुने गरेको भए पनि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसकेको उनीहरूको आरोप छ ।
सवारी चालक अनुमतिपत्र, नवीकरण, नामसारी, राजस्व भुक्तानी तथा अन्य यातायातसम्बन्धी सेवाका क्रममा बिचौलियाको सक्रियता देखिने गरेको सेवाग्राही बताउँछन् ।
कार्यालयको आधिकारिक प्रक्रिया सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सके दलालको आवश्यकता नै नपर्ने उनीहरूको भनाइ छ ।


