जनकपुरधाम, ०७ असोज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै धनुषामा विभिन्न खेल विधाका खेलाडीको जिल्ला स्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक तर हालसम्म फाराम भर्न बाँकी रहेका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति धनुषाले तत्काल कार्यालयमा सम्पर्क गरी फाराम भर्न आग्रह गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धनुषाले सूचना जारी गर्दै असोज १३ गतेसम्म कार्यालय समयमा खेलाडीको फाराम संकलन तथा छनोटसम्बन्धी प्रक्रिया सञ्चालन गरिने जनाएको छ ।

खेलाडीहरूले जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गरी आफू सहभागी हुन चाहेको खेल विधाका लागि आवश्यक फाराम भर्न सक्नेछन् ।

जिल्लामा रहेका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले छनोट प्रक्रिया अघि बढाइएको होे । राष्ट्रिय प्रतियोगिताका लागि जिल्लाबाट सक्षम र प्रतिभाशाली खेलाडी छनोट गर्नुपर्ने भएकाले कुनै पनि योग्य खेलाडी अवसरबाट वञ्चित नहोस् भन्नेमा समिति सचेत रहेको बताइएको छ ।

समितिले छनोट प्रक्रियामा सहभागी हुन इच्छुक खेलाडीलाई तोकिएको समयभित्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।