रौतहट, १४ मंसिर । रौतहटमा दुई विघा धानको थुप्रोमा अज्ञात समूहले आगजनी गरेको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकास्थित अवकाश प्राप्त सई रामानन्द यादवको दुई विघा खेतको धानमा मंगलबार राति आगलागी भएको हो ।

काटेर दाइँ (दौनी) गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा मंगलबार राति करिव १२ बजे आगजनी गरेको पीडितले बताएका छन् ।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताए । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान छ ।

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।