जनकपुरधाम, १३ मंसिर । यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन आज ‘रामकलेवा’ विधिको आयोजना गरेसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

अयोध्या लगायतका स्थानहरूबाट जन्तीको रूपमा आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा ५६ व्यञ्जन भोजन गराएर बिदाइ गरिएको छ । मिष्ठान परिकार भोजन गराई, गीतको माध्यमले गालीगलौज गरी स्वागत गर्ने परम्परालाई ‘रामकलेवा’ भनिन्छ । जन्तीका रूपमा आएका साधुसन्तलाई चादर, कम्बल र दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन रहेको छ ।

यस दिनमा राम, सीता ,लक्ष्मण, भरत र शत्रुधनको रूपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरूको पनि बिदाइ गरिन्छ ।

मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।

त्रेतायुगमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा राम र सीताको जसरी बिहे भएको थियो त्यसैअनुसार वर्तमानमा पनि रामजानकीको डोलालाई स्वयंवर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ ।

मंसिर ७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट लाखौं श्रद्धालु भक्तजनहरू जनकपुरधाम आएका थिए । भगवान सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुरधाम आएका लाखौं दर्शनार्थी घर फर्किन थालेका छन् ।