जनकपुरधाम, १३ मंसिर । २०७८ फागुन २५ गते महोत्तरीको औरही नगरपालिका वडा नम्बर–१ बस्ने नेहा चौधरीको विवाह सोही नगरपालिकाको वडा नम्बर–५ रामगोपालपुर बस्ने पंकज चौधरीसँग भयो । विहेअघि २०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भएको थियो ।

नेहा र पंकजबिच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेकाले दूबैको परिवारबिच सहमति अनुसार नै धुमधामका साथ जनकपुरधामको राजदरवार होटलमा धार्मिक परम्परा अनुसार धुमधामसँग विवाह भयो ।

काठमाडौंमा अध्ययनरत रहेकै बेला नेहा र पंकज प्रेममा थिए । पंकज एमडि सकाएर विवाह गर्ने योजनामा रहेपनि नेहाकै दवाबमा एमडी नसकाउँदै विवाह गर्ने निर्णयमा पुगे । दूबैको विवाह २०७८ फागुन २५ गते सामाजिक रितिरिवाजअनुसार धुमधामका साथ सम्पन्न भयो ।

तर, विवाह भएको केही महिना नबित्द दूबै बिचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले पंकजले आफूमाथी शारिरिक तथा मांसिक यातना दिँदै आएको आरोप लगाइन् । दाइजोका लागि पंकजले पटक पटक आफूलाई कुटपिट गरेको नेहाको आरोप थियो ।

यता नेहाले लगाएको यो सबै आरोप निराधार रहेको पंकजको दावी छ । नेहाले आरोप लगाएको एक महिनापछि सञ्चारमाध्यममा आएर पंकजले आफूमाथि नेहाले लगाएको सबै आरोप झुठो, कपोलकल्पित र निराधार रहेको दावी गरेका छन् । उनले उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिँदै आएको आरोप लगाए ।

पंकजले बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो विषयमा पनि आफूसँग झगडा गर्दै आएको बताए । उनले भने, ‘नेहा सानो सानो विषयमा पनि मसँग झगडा गर्थिन, म सम्बन्ध बचाउनकालागि पटक पटक मनाउने प्रयास गर्थे । मैले नेहामाथी कहिल्यै हातपात गरेको छैन, बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु ।’ पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयास समेत गरेकी छन् ।

मेरो बुवा रामप्रवेश चौधरीले हाम्रो विवाहका लागि नेहाको परिवार समक्ष मलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखेको कुरा विल्कुलै गलत रहेको र नेहाका बुवा सुरेश चौधरीले आफ्नो परिवारलाई ५१ लाख रुपैयाँ दिएको कुरा पनि झुटो रहेको पंकजको जिकिर छ ।

नेहासँग प्रेम सम्बन्धमा रहेपनि उसको यही सानोतिनो विषयमा झगडिने बानीका कारण विवाह गर्ने पक्षमा आफू नरहेको बताउँदै पंकजले नेहाको घरपरिवारको दवाबका बिच विवाह गर्नुपरेको सुनाए । उनले भने, ‘विवाहभन्दा पहिले मलाई जे डर थियो त्यही भयो, अब सम्बन्ध म बचाउन सक्दिन त्यसैले सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको छु ।’

पंकजले नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार कुनै घटनानै नभएको दावी गरेका छन् ।

कार्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो । अहिले नेहाले पंकजबिरुद्ध अंशको मुद्दा समेत दिएकी छन् ।