जनकपुरधाम, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मधेस प्रदेशमा अहिलेसम्म कुल १८ लाख ९१ हजार ५६२ मतगणना गरिएको छ ।

आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले ३ लाख ६८ हजार ५२७ मत प्राप्त गर्दा नेकपा एमालेले ३ लाख ३४ हजार १६३ र जनमत पार्टीले २ लाख ७५ हजार ९९३ मत प्राप्त गरेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २ लाख ६६ हजार २९८, नेकपा माओवादी केन्द्रले १ लाख ७१ हजार ५०७ र नेकपा एकीकृत समाजवादी पार्टीले १ लाख ३ हजार ५७७ मत प्राप्त गरेका छन् ।

आयोगको विवरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ९७ हजार ६४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६३ हजार ५६, नेपाल संघीय समाजवादी पार्टीले ४८ हजार १८२, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ६७७ र बहुजन एकता पार्टीले १९ हजार ६१३ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मधेस प्रदेशमा कूल ३६ दल निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको बहुजन समाज पार्टीले ५१४ मत प्राप्त गरेको छ ।

आयोगले अन्य प्रदेशको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नम्बर–१ मा १७ लाख १५ हजार ५०७ मतगणना भइसकेको छ ।

वागमती प्रदेशमा १७ लाख ८४ हजार ६९४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७३ हजार २०१ मतगणना भइसकेको छ ।