सप्तरी, १३ मंसिर । सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सोमबार राति कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रेटी हत्या गरिएको देखिन्छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।