सर्लाही–१ बाट लोसपाका चौधरी निर्वाचित हुँदा अन्य क्षेत्रमा को छन् अगाडि?

जनकपुरधाम, ८ मंसिर । सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन् ।
चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत पाउँदा खड्काले १८ हजार ४०४ मत पाएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाएका छन् भने जनमत पार्टीका जनराम विश्वास रायले १ हजार २१६ मत ल्याएका छन् ।
त्यस्तै, सर्लाही–२ मा प्रतिनिधिसभातर्फ लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो ८ हजार ८६९ मतका साथ अग्रस्थानमा रहेका छन् । महतोलाई नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले ८ हजार ७५६ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेका राजनारायण साहले ७ हजार ३३४ मत पाएका छन् ।
प्रतिनिधिसभातर्फ सर्लाही क्षेत्र नम्बर–३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती २१ हजार ६९१ मतसहित अग्रता बढाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवार २० हजार ४६९ मत पाएर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका त्रिभुवन कुमार सिंहले २ हजार ८८५ मत पाएका छन् ।
सर्लाही क्षेत्र नम्बर–४ को ताजा मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले १६ हजार ६८४ मत पाएर अग्रता कायम गरेका छन् । सिंहलाई नेपाली कांग्रेसका नागेन्द्र यादवले १५ हजार ३०३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ११ हजार ७७८ मत पाएकी छन् ।
प्रदेशसभामा पाँच क्षेत्रको नतिजा सार्वजनिक
प्रदेशसभातर्फ सर्लाहीको आठ निर्वाचन क्षेत्रमध्ये समाचार तयार पार्दासम्म पाँचवटाको नतिजा सार्वजनिक भएको छ । सर्लाही क्षेत्र नम्बर–१ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र महतो १२ हजार २६५ मतसहित दोस्रोपटक निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १० हजार १३७ मत प्राप्त गरेका छन् भने जसपाका अहमद मिया मुकेरी ४ हजार ३१ म्त पाएर तेस्रो स्थानमा सिमित रहे ।
सर्लाहीको–१ (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी भएकी छन् । लुङ्गेली १३ हजार ३०१ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९१३ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठले ५ हजार ६५३ मत पाएका छन् ।

सर्लाही–२ को (क)मा नेपाली कांग्रेसका जंगीलाल रायले ६ हजार १३० मत प्राप्त गरेर अग्रता बढाउँदा जनमत पार्टीका भरत चौधरीले ५ हजार ४४२ मत पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ४ हजार ८४५ मत पाएका छन् ।
समाचार तयार पार्दासम्म सर्लाही–२ को (ख)को मतगणना सुरु हुन सकेको छैन् ।
त्यस्तै, सर्लाही–३ को (क)मा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा निर्वाचित भएका छन् । कुशवाहा १६ हजार ५९१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईले १५ हजार १६६ मत ल्याएका छन् । यसअघि २०७४ मा यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती भने ५ हजार ३७२ मतमै सीमित भएका हुन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)मा जसपाका संजय कुमार यादव निर्वाचित भएका छन् । यादवले १३ हजार १९० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज कुमार रायले ८ हजार ३४८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका हरेश प्रसाद महतोले ८ हजार ३५ मत प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फ सर्लाही–४ को (क)मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद सिंह पुनः विजयी भएका छन् । सिंहले १५ हजार ६९३ मत ल्याएर विजयी भएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले २ हजार ३८८ मत मात्र प्राप्त गरेका छन् ।
सर्लाही–४ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएका छन् । महतो ८ हजार ३३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादवले ७ हजार ६७६ मत प्राप्त गरेकी छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार संजय कुमार सिंहले ५ हजार १४७ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


