काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुनलागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गरेकी छन् ।

शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् ।

उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको प्रमाणित गर्ने उनको भनाइ छ ।