जनकपुरधाम, ३ मंसिर । निर्वाचन आयोगले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्न उम्मेदवारहरूलाई निर्देशन दिइरहँदा जनकपुरधाममा भने आयोगसँगै सम्बन्धित काममा बालबालिकाको प्रयोग गरिएको पाइएको छ ।

आइतबार हुनलागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जनकपुरधाम-१३ पिडारी पछियारी टोलस्थित वैदेही सामुदायिक सेवा समितिमा मतदान केन्द्र निर्माणको काममा बालबालिकाको प्रयोग गरिएको देखिएको हो ।

आयोगले धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटाएको अवस्थामा मतदान केन्द्र निर्माणका लागि बालबालिकाको प्रयोग गर्नु दु:खद रहेको स्थानीय सुशील कर्णले बताए ।

उनले प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि कुल ८ जना कर्मचारी सशुल्क खटिएपनि मतदान अधिकृतले निर्वाचनसँग सम्बन्धित काममा बालबालिकाको प्रयोग मजदुरको रूपमा गर्न लगाएर आयोगले बनाएको कानूनलाई नै उल्लंघन गरि गम्भीर गल्ती गरेको बताए ।मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतलाई ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने अधिकार प्रदेश निर्वाचन कार्यालयले दिएको अवस्थामा स्वयंसेवकको रूपमा बालबालिकाको प्रयोग भने अशोभनीय रहेको स्थानीयको टिप्पणी छ ।

यस सम्बन्धमा वैदेही सामुदायिक सेवा समितिका मतदान अधिकृत रामनारायण चौधरीले आफू उपस्थित नभएको बेलामा त्यहाँ कुनै एकजना बालकलाई मजदुरीको काममा खटाइएको स्वीकार गर्दै भुलसुधार गरिसकेको जानकारी दिए ।

यसअघि उम्मेदवारहरूले पनि निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्ने काममासमेत प्रयोग गरेको देखिएको थियो ।

नेताको भाषण अघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका थिए ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेको छ ।