महोत्तरी, २ मंसिर । महोत्तरीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामभुषण साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

आक्रमणमा परी अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल घाइते भएका छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

यता, एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।