काठमाडौं, २ मंसिर । आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र सार्वजनिक हुने भएको छ ।

प्रत्यक्षतर्फको मतपरिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने निर्वाचन आयोगको दाबी छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ ।

‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ,’ उनले भने ।

थपलियाका अनुसार मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी छ ।