जनकपुरधाम, १ मंसिर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मंसिर ४ को निर्वाचनपश्चात देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

पाँचदलीय गठबन्धनले चुनाव प्रचार–प्रसारको अन्तिम दिन बिहीबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वउपसभापति निधिले यस्तो दावी गरेका हुन् ।

निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको दावीसमेत गरेका छन् । उनले गठबन्धनकै सहमतिअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा चुनाव लडेको र त्यसमा आफूहरू ७० वटा सिट जित्ने लगभग निश्चित रहेको दावी गरेका छन् ।

त्यस्तै, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चालगायतका दल पनि राम्रो संख्यामा जित्ने अहिलेसम्मको अनुमान रहेको उनले बताए ।नेता निधिले धनुषा–३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ साइकल छापमा र बाँकीमा रूख चिह्नमा मत दिन मतादातासँग आग्रहसमेत गरेका छन् ।

उनले भने, ‘मैले कांग्रेसलाई समर्थन गर्ने आफ्ना क्षेत्रका मतदाताहरूसँग अनिल झाको चुनाव चिह्न साइकल छापमा मतदान गर्न आग्रह गरिसकेको छु । त्यसैले यहाँ उनको जीत सुनिश्चित छ ।’

‘अनिलजी जुनसुकै पार्टीमा भए पनि वहाँसँग पहिलेदेखि नै मेरो अत्यन्त मैत्रीपूर्ण सम्बन्ध छ । संघर्षको बेलामा, संविधान लेख्ने बेलामा, धेरै मुद्दाहरू लोकतन्त्र, संघीयता र मधेसका मुद्दाहरूमा हामी दुई जनाको धेरै कुरा मिल्छ । त्यसैले अनिलजीको यहाँ जो प्रवेश भएको छ, मेरो सहमतिमा हो । मेरो पार्टीका सारा साथीहरूलाई मैले यहाँ अनुरोध गरेको छु अनिल झाजीलाई साइकल छापलाई विजयी गराउन ।’

उनले भने, ‘धनुषा–३ मा गठबन्धनका उम्मेदवारहरू जित्नेमा कुनै दुईमत छैन् । अनिल झा पनि जित्नु हुन्छ, रामसरोज यादवजी पनि जित्नु हुन्छ, परमेश्वर साहजी पनि जित्नु हुन्छ । हाम्रा सबै उम्मेदवारको जीत पक्का छ ।’

नेता निधिले यस क्षेत्रमा प्रतिपक्षीहरू पनि अनिल झाप्रति इमान्दार हुने विश्वास व्यक्त गरेका छन् ।