चितवन, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् ।

बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पार्टी सभापति लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको समृद्धिमा साथ दिन आएको बताए ।

उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए । उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए । उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए । आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए ।

उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे । भने, ‘हामीले सरकार बनायौं भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ ।’ उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यहि देशमा रोजगारी पाउने अवस्था बनाउने बताए ।

कार्यक्रममा सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ५ दिन खुवाएर ५ बर्ष रुवाउने नेताहरूको विदाई गर्नुपर्ने भन्दै त्यो दिन मंसिर ४ मा भएकाले मतदाताले प्रयोग गर्नुपर्ने बताए । उनले रवि लामिछानेजस्ता नेतालाई संसदमा पुर्याए भ्रष्टाचारको जरो हल्लिने र अर्को चुनावसम्ममा भ्रष्टाचारको पुरै जरो उखेल्ने दावी समेत गरे ।

त्यसैगरी चितवन क्षेत्र नम्बर–१ बट सो पार्टीका उम्मेदवार हरि ढकालले अभिभावकको आशीर्वाद र युवाको साथबाट यो पटकको निर्वाचनमा विजयी बन्ने विश्वास व्यक्त गरे । चितवन–३ का अर्का उम्मेदवार जीता बरालले भ्रष्टाचार विरुद्धको लडाइका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवारहरू मैदानमा आएको बताइन् ।