जनकपुरधाम, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले प्रदेश निर्वाचन कार्यालयबाट मतदान सामग्री लिएर मतदान स्थल पुगेका छन् ।

मधेस प्रदेश निर्वाचन कार्यालयले बिहीबारदेखि निर्वाचन सामग्री वितरण कार्य सुरु गरेको हो ।

मतदानस्थलमा खटिने कर्मचारीलाई मतदानस्थल पुग्न आवश्यक तयारी छिटो गर्न सहज होस् भनी निर्वाचन सामग्री वितरण गर्न सुरु गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयले ५२ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिएका छन् ।

मतपत्र भने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले वितरण गर्नेछ । मतपत्र पनि बिहीबारदेखि नै वितरण गरिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रतिनिभिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जना, क्षेत्र नम्बर–२ मा १६ जना, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् । यस्तै प्रदेशसभा १ को (क) मा १४ जना, (ख) मा १४ जना उम्मेदवार छन् भने २ को (क) मा १४ जना र (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० जना र (ख) मा २७ तथा ४ को (क) मा १९ जना र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा ३२२ वटा मतदानस्थल र ६०५ मतदान केन्द्र गरिएको छ । जसमध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ वटा सामान्य मतदान स्थल रहेका छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको छ ।८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् । मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।