एमालेसँग गठबन्धन गर्ने दलहरु प्रतिक्रियावादी रहेको यादवको आरोप

जनकपुरधाम, १ मंसिर । नेपाली कांग्रेसका सह–महामन्त्रीसमेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिभिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवले नेकपा एमालेसँग गठबन्धन गर्ने दलहरु प्रतिक्रियावादी रहेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक चिकित्सक संघ मधेस प्रदेशले पाँचदलीय गठबन्धनका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता यादवले पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई भोट खसाल्न जनता आतुर रहेको बताएका हुन् ।

उनले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा पाँचदलीय गठबन्धनको ४५ हजार मत रहेकोले गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित रहेको दावीसमेत गरेका छन् ।
उनले भने, ‘धनुषा–४ मा पाँचदलीय गठबन्धनको ४५ हजार र जसपा–एमाले गठबन्धनको मात्र २२ हजार मत रहेकोले हाम्रो जीत एकदम सुनिश्चित नै देखिन्छ । यसमा कुनै दुईमत छैन् ।’
कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका लोसपा नेता अनिलकुमार झाले नागरिकता सम्पूर्ण देशवासीको हक रहेको बताए । उनले नागरिकताबाट वञ्चित भई पीडा भोगिरहेका व्यक्तिहरुको कुरा सुनेर आफू धेरै दुःखी भएको बताएका हुन् ।

झाले आफू नागरिकताबिहीनहरुको आवाजको रुपमा धनुषा–३ मा प्रस्तुत भएको बताए । उनले नागरिकता र पहिचानको विषयमा आफ्नो ३० वर्षे संघर्षमा सम्पूर्ण जनताको सहभागिताका लागि आशा राखेकोसमेत बताए । मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताएर यस अभियानमा सहभागी हुन उनले अपील गरेका छन् ।
मधेस प्रदेशका वरिष्ठ चिकित्सक डा. हुकुमदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषा–३ (क)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादव, ३ (ख)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साह, ४ (क)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार शेष नारायण यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक चिकित्सक संघका संस्थापक सदस्य डा. अन्जनी कुमार झालगायत प्रजातान्त्रिक चिकित्सक संघ आवद्ध दर्जनौं चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अन्जनी कुमार झाले चिकित्सकहरुसँग भइरहेको व्यवहार र बेथितीविरुद्ध बोलेका थिए । उनले यसको समाधानका लागि पनि पहल गर्न नेताहरुसँग आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रजातान्त्रिक चिकित्सक संघका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता डा. सज्जन ठाकुरले गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


