जनकपुरधाम, १५ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामको रक्तसञ्चार केन्द्रमा हाल ३९ युनिट रगत मौज्दात रहेको छ ।

रक्त भण्डारको विवरणअनुसार विभिन्न रक्त समूहका गरी ३९ युनिट रगत उपलब्ध रहे पनि केही रक्त समूहको मौज्दात न्यून रहेको छ ।

रेडक्रसले सार्वजनिक गरेको आइतबारको विवरणअनुसार ए पोजेटिभ ७, ओ पोजेटिभ ९, बी पोजेटिभ १९ र एबी पोजेटिभ १ युनिट रगत मौज्दात रहेको छ । त्यस्तै, ए नेगेटिभ २ र ओ नेगेटिभ १ युनिट रगत उपलब्ध छ ।

रक्त सञ्चार केन्द्रमा विशेषगरी एबी पोजेटिभ, ए नेगेटिभ र ओ नेगेटिभ समूहको रगतको मौज्दात न्यून रहेकाले नियमित रक्तदानको आवश्यकता देखिएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताए ।

उनका अनुसार दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्त भण्डारमा पर्याप्त रगतको उपलब्धता कायम राख्न नियमित रक्तदान आवश्यक छ ।

उनले युवावर्ग, सामाजिक संघसंस्था, नागरिक समाज तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई रक्तदान अभियानमा सहभागिता जनाउन आग्रह गरे ।

रेडक्रस धनुषाले पनि रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै रक्त सञ्चार केन्द्रमा आवश्यक रगतको मौज्दात कायम राख्न सबैलाई सहयोग गर्न आह्वान गरेको छ ।

रक्तदान गर्न इच्छुक व्यक्तिले नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधाममा सम्पर्क गर्न सक्नेछन् ।