सर्लाही, १ मंसिर । सशस्त्र प्रहरीले सर्लाहीबाट मिनरल वाटरको कार्टुनमा तस्करी भइरहेको गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

मलंगवा नगरपालिका–११ गमहरियास्थित एक पेट्रोल पम्पमा पार्किङ गरेर राखिएको बागमती प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकबाट १ क्विन्टल ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

२ नम्बर छिन्नमस्ता बाहिनीको विशेष सूचनाको आधारमा बिओपी मलंगवाबाट खटेको सशस्त्र प्रहरी टोलीले पानीको ८० वटा कार्टुनभित्र लुकाई छिपाई भारततर्फ लैजान लागेको प्रतिबन्धित गाँजा नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको गाँजा र ट्रक आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।