सुनसरी–४(२) का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं, ३० कार्तिक । निर्वाचन आयोगले सुनसरी–४(२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरेको आयोगले जनाएको हो ।
मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयोगले स्पष्ट पारेको छ ।
मेहताको उम्मेदवारी बदर भए पनि नयाँ छपाइ गरी मतपत्र लैजान समयअभावका कारण असम्भव भएकाले उनको चुनाव चिह्नमा परेका मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


