निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

काठमाडौं, ३० कार्तिक । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।
गृह मन्त्रालयले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चतता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।
गृह सचिव सिंहले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकाय सक्षम रहेको बताए । उनले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए ।
गृह सचिव सिंहले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


