चितवन, ३० कार्तिक । मंसिर ४ गते हुने आसन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडीमा तोडफोड गरिएको छ ।

बुधबार बिहान भरतपुरमा रोकिराखेको श्रेष्ठको गाडीमा अज्ञात समूहले तोडफोड गरेका हुन् । चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीनजनाको समूहले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी हुँदै गर्दा पार्किङ गरिराखेको गाडी तोडफोड भएको हो ।