पोखरा, ३० कार्तिक । गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका कास्की–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजी बराल ‘जीवन’को उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवार हुन अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

पोखरा–२४ का बोधराज रेग्मीले दिएको उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उल्लेख छ ।

उक्त रकम नबुझाएको भन्दै कोषले २०७६ वैशाख १ गते कालोसूचीमा राखेको र हालसम्म पनि नबुझाएकाले उम्मेदवार बन्न योग्य नरहेको उजुरीमा दाबी गरिएको छ ।

अर्थमन्त्री जीवन संलग्न रहेको गण्डकी माछापुच्छ्रे« सहकारी संस्थाले कोषबाट २०६९ फागुन २१ गते ५० लाख ऋण लिएको थियो । उक्त रकम २०७३ असार मसान्तसम्म बुझाउनुपर्ने सम्झौता भएको थियो ।

समयसीमा भित्र रकम नबुझाएपछि जीवनसहित सहकारीमा आबद्ध १५ जनालाई कोषले कालोसूचीमा राखेको थियो ।