जनकपुरधाम, २९ कार्तिक । जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले शिक्षामा सुदृढीकरण र कृषिलाई प्रविधिकरणमा जोड नदिएसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।

कमलले शिक्षामा सुधार नभएसम्म क्षेत्रको विकास अकल्पनीय रहेको बताए । मतदातासँग भेटघाट गर्दै उनले आफूलाई जिताएमा कृषिलाई प्राथमिकताका साथ उठाउने र कृषिलाई प्रविधिकरण बनाएर उत्पादनमा बृद्धि गर्ने किसिमका नीति एवम् योजना ल्याउनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

मंसिर ४ गते हुने निर्वाचनमा आफुलाई मतदान गरेर जिताउन उनले आग्रह गरेका छन् । घरदैलोका क्रममा त्यहाँका मतदाताले पनि कमललाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचित भएपछि यहाँका आम नागरिकको दैनिकीमा परिवर्तन गर्ने किसिमका योजनामा काम गर्न आग्रह गरेका छन् ।

निर्वाचनको पूर्वसंध्यामा मत माग्न मतदाताको घरघर पुगिरहेका उनले प्रतिनिधिसभामा उम्मेदवारी दिनुको कारणका साथै आफ्नो एजेण्डा समेत जनतालाई सम्झाइरहेका छन् ।