जनकपुरधाम, २९ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका शीर्ष नेता शरतसिंह भण्डारीले आफ्नो पार्टीले मात्रै मधेसको मुद्दालाई समातेर अगाडी बढिरहेको दावी गरेका छन् ।

मधेसको नाममा मत लिएर सत्ता भोग गर्नेहरु यहाँका मुद्दा बिर्सदै गएपनि लोसपाले मधेसको मुद्दाहरु कहिल्यै नबिर्सिने उनले स्पष्ट पारेका हुन् ।

‘मधेसवादलाई मजबुत पार्नकै लागि उपेन्द्र यादवलाई हामीले रेस्क्युँ गरेका थियौँ, भण्डारीले भने, ‘तर उनले मधेशी जनताकै बलमा सत्तामा पुगेर धोखा गरे ।’

मंसिर ४ गतेको निर्वाचनमा उनलाई यहाँका जनताले गतिलो जवाफ दिने नेता भण्डारीले बताए ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता भण्डारीले नागरिकताको विषय सदनसम्म पुग्नमा लोसपाकै प्रमुख भूमिका रहेको दावी गरे ।

देशकै ठूलो समस्याका रुपमा नागरिकताको मुद्दा समाधानकालागि लोसपाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न मतदाताहरुलाई उनले अपिल गरे ।

उनले देशमा संघियताको रक्षा, संविधान कार्यान्वयन, संविधान संशोधन, नागरिकता समस्या समाधानका लागि सत्ता गठबन्धनको जीत मुलुकका लागि अपरिहार्य रहेको जिकिर गरेका छन् ।