काठमाडौं, २९ कार्तिक । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतालाई भोट नदिन आग्रह गरेका हुन् ।

शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताउँदै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे ।

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताउँदै आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो नर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदातालाई आग्रह गरे । सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन उनले आग्रह गरे ।

नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताउँदै डा. केसीले नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको बताए ।