ललितपुर–१ का उम्मेदवार डा. सचिन घिमिरे आमरण अनशनमा

काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनशनमा बसेका छन् ।
घिमिरेले ७ सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनशनमा बसेका हुन् ।
ललितपुर–१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय–व्यय विवरण सार्वजनिक हुनुपर्ने उनको मुख्य माग छ ।
उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको माग छ ।
घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् । उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् ।
साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


