नुवाकोट, २९ कार्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाडौँतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

२० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी ३ वर्षीया छोरी कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।