काठमाडौं, २८ कार्तिक । निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ । कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ ।

हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ । योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा ल्याउने तयारी नागरिक उड्डयन प्राधिकरणको रहेको छ ।