जनकपुरधाम, २७ कार्तिक । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले आफ्नो पार्टीको मुख्य एजेण्डा नै भ्रष्टाचारलाई निरुत्साहित गर्नु रहेको बताएका छन् ।

गरिब निमूखाका लागि आवाज उठाउँदै आइरहेको जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने कमललले दावी गरेका हुन् ।

धनुषा–१ मा आफूले एमाले छोडेर जनमत पार्टीबाट उम्मेदवारी दिएकाले पनि आफ्नो स्थिति मजबुत हुँदै गईरहेको दावी गरे । एमाले भित्र आफूले पछाडी परेका क्षेत्रहरुका साथै गरिब निमूखाका लागि बोल्नुका साथै विभिन्न विकास निर्माणका कार्यहरु यस क्षेत्रमा काम गरेपनि अवसर नदिएकोमा उनले आक्रोशसमेत व्यक्त गरे ।

किशोरीले आइतबार गणेशमान चारनाथ नगरपालिकाको बरमझिया, डुमरिया, राधापुर र भरतपुर लगायतका गाउँमा पुगेर मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

कमलले विकास र समृद्धि आफ्नो मूल एजेण्डा रहेको बताए । विकास शिक्षा बिना सम्भव नरहेकाले पहिला यस क्षेत्रको विकासका लागि शिक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जनमतले शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण र प्राविधिक शिक्षामा जोड दिनेछ ।’