जनकपुरधाम, २७ कार्तिक । धनुषा ३(क) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न कुमार झाले आफ्नो मनमा चिकित्सक पेशाबाटै सेवा भाव जागृत भएकाले राजनीतिमा लाग्न प्रेरित भएको बताएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै घरदैलोलाई तिब्र बनाएका झाले भने, ‘चिकित्सकिय पेशामा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’

उनले आफू निर्वाचित भए मधेस प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारको क्षेत्रमा विकासका लागि निति निर्माण गर्न भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मतदातहरु बिच उनको चर्चा बढ्दै गईरहेको छ । झाको उम्मेदवारीलाई लिएर युवाहरुमा मात्र नभई पाकाहरुको समूहमा समेत उनको चर्चा बढिरहेको छ । चिकित्सकिय पेशा छोडेर चुनावी मैदानमा उत्रिएकाले पनि उनको चर्चा चुलिएको हो । आफू राजनीतिलाई मेवा होइन सेवा भावकै कारण आएकाले जनताले आफूमाथि विश्वास गर्ने दावी गरे ।

उनले भने, ‘यस अघिका जनप्रतिनिधिहरु राजनीतिलाई मेवा पाउने माध्यम बनाएकाले विकास हुन सकेन तर म राजनीतिलाई सेवाको रुपमा लिएर काम गर्नेछु ।’