स्थायी शान्ति र विकासका लागि गठबन्धनले जित्नुपर्छ : प्रधानमन्त्री देउवा

चितवन, २६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिबार चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।सभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए ।
ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए । प्रधानमन्त्री देउवाले भने–‘यसलाई अझ बढी एकताबद्ध बनाउने भन्ने हो ।’ यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उनले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए ।
स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताए । विजयीको जस पनि चितवनका जनताले लिन पाउने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


