जनकपुरधाम, २६ कार्तिक । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (ख) का स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आसन्न निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (ख) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशूल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने छु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

बलबालिकाहरूको उज्जवल भविष्यका लागि पोषणयूक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरूको सहज उपलब्धता गराउने अम्भुको प्रतिबद्धता पत्रमा उल्लेख छ । साथै राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

‘राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका निमित्त सदैव प्रतिबद्ध भई प्रदेशसभामा प्रतिनिधित्व गर्दै प्रदेशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धन गर्छु,’ उनले भनेका छन् ।

यस्तो छ अम्भुको १५ बुँदे प्रतिबद्धता :

१. बालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने छु ।

२. निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई आफ्नो वडा, नगर, क्षेत्र, जिल्ला लगायत समग्र प्रदेशलाई पूर्ण साक्षर बनाउने छु ।

३. प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशुल्क उपलब्धता आफ्नै क्षेत्र भित्र गराउने छु ।

४. लागूपदार्थ एवं दुर्व्यसनमा लागेका युवापिढीको उद्धार गर्न पुर्नस्थापना केन्द्रको स्थापना गरी लागूपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लागि कानून बनाई कार्यान्वयन गराउने छु ।

५. शिपमूलक तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी दक्ष जनशक्ति निर्माण एवं आफ्नो क्षेत्र भित्र नै उद्योग, व्यवसाय गरी आत्मनिर्भर बनाउने एवं पूर्ण रोजगारको व्यवस्था, गराउने छु ।

६. युवाहरुमा नेतृत्व विकास एवं सामाजिक दायित्व निर्वाहनका लागि परिस्कृत क्षमता अभिबृद्धि तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी आदर्श एवं नैतिकवान समाज निर्माणका लागि कानून बनाई कार्यान्वयन गराउने छु ।

७. प्रदेशको हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितताका लागि निःशुल्क महिला मैत्री होस्टेल सहितको कलेज एवं उच्च शिक्षाको व्यवस्था गर्ने एवं महिला शोषण र हिंसा विरुद्धको कानूनको कार्यान्वयन गराउने छु ।

८. दलित तथा पिछडावर्ग, विधवा एवं एकल महिला र वृद्धवृद्धा, अपाङ्ग र असहायहरुको संरक्षण, सम्बर्द्धन एवं समतामूलक विकास कार्यमा सहभागितका लागि कार्यान्वयन गराउने छु ।

९. प्रदेश सभा धनुषा क्षेत्र नं. ३ (२) को कृषि उत्पादनले यस क्षेत्रका लागि र समग्रमा ८ जिल्लाको कृषि उत्पादनले यस प्रदेशको भोक टार्न सक्ने क्षमता विकासका लागि कृषि यान्त्रिकीकरण एवं दीर्घकालिन सोचले विकास तथा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि एवं रासायनिक किटनाशक मलको प्रयोगमा नियन्त्रण गराउने छु ।

१०. सांस्कृतिक धरोहरहरुको संरक्षण, सम्बर्द्धन, विकास जिर्णोद्धार गराई जनकपुरधामको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा गराउने छु ।

११. पर्यटन, प्रबर्द्धनका निम्ति मधेश प्रदेशको राजधानी जनकपुरधामलाई वैवाहिक स्थलको रुपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउन आवश्यक पूर्वाधार निर्माण गराउने छु ।

१२. सफाईकर्मी कर्मचारीहरुको स्वास्थ्योपचार, स्वास्थ्यबीमा, जीवनबीमा निःशुल्क गराई स्थाई दरबन्दी गराउने छु ।

१३. सामाजिक न्याय, मौलिक हकको प्रत्याभूति, भ्रष्टाचार निमुर्लकरण गराउन एवं प्राकृतिक आपदाको समयमा विकासका पूर्वाधारहरु (गास, वास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, संचार आदि) को प्रत्याभूति गराउने छु ।

१४. समृद्ध एव नमुना सहरको रुपमा मधेश प्रदेशको राजधानी जनकपुरधामलाई चिनाउन फुटपाथ व्यवस्थापन, नाला व्यवस्थापन, फोहोर व्यवस्थापन, बजार क्षेत्र व्यवस्थापन, रेल्वे क्रसिंग व्यवस्थापन तथा हाईवे व्यवस्थापन जस्ता विषयहरुमा कार्यान्वयनका लागी स्थानीय सरकारसंग समन्वय गरी गर्नेछु ।

१५. प्रदेश सभा संसदीय क्षेत्र भित्र मुख्य–मुख्य सडकमा कालोपत्रे निर्माण, जिर्णोद्धार, शुलभ शौचालय तथा पिउने पानीको व्यवस्थापन, सार्वजनिक भवन एवं पार्क निर्माण गराउने छु ।