आफूलाई अन्तिमपटकका लागि भोट दिन अध्यक्ष ठाकुरको आग्रह

महोत्तरी, २६ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो उम्मेदवारी यसपटक अन्तिम पटकका लागि रहेको बताएका छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका अध्यक्ष ठाकुरले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका हुन् ।
अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन् ।
यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन् ।
मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरे । साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


