सर्लाही, २६ कार्तिक । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

शुक्रबार राति ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–६ का विजय मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्धिविनायक अस्पताल पुर्याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको मोटरसाइकल आफंै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जाँचबुझबाट खुलेको प्रहरीको भनाइ छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

मृतक यूवकको शव प्रहरीले प्रदेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ ।