जनकपुरधाम, २५ कार्तिक । आसन्न निर्वाचनमा धनुषा ३(क) बाट जनमत पार्टीका प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न झाले मतदातालाई कसैको दबाब वा प्रभावमा परेर मतदान नगर्न आग्रह गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरूले विभिन्न प्रलोभनमा पारेर मतदाता रिझाउने प्रवृति बढेको भन्दै झाले सही सुझाव दिएर सही मार्गमा डोर्याउनुपर्नेमा जोड दिएका हुन् ।

शुक्रबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको विभिन्न ठाउँमा घरदैलोका लागि पुगेका झाले जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरे । विकास र समृद्धिका लागि जनमत पार्टीको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

झाले मतदाताको विश्वासलाई आफूले सार्थकतामा परिणत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

आफूसँग प्रदेश र यस क्षेत्रको विकासका लागि विभिन्न एजेण्डाहरू रहेकाले आफूमाथी विश्वास गरेर एक पटक परिक्षणका लागि भएपनि अवसर दिन मतदातालाई उनले आग्रह गरे ।