काठमाडौं, २५ कार्तिक । काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो ।

खुल्ला रुपमा आगो बाल्दा वायु प्रदूषण हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ ।

सूचनामा कहीँ कतै कसैले आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन– २०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।