जनकपुरधाम, २४ कार्तिक । धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले जनमत पार्टी सुरुदेखि नै भ्रष्टाचारलाई निरुत्साहित गर्ने दिशामा लागेको दावी गरेका छन् ।

बिहीबार हंसपुर नगरपालिकाको विभिन्न ठाउँमा घरदैलोका लागि पुगेका कमलले जनमत पार्टी सुरुदेखि नै भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आइरहेकाले जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

भ्रष्टाचारलाई निर्मूल पार्ने दिशामा काम गर्ने दल रहेकाले जनमतको नेतृत्वमै विकास र समृद्धि सम्भव रहेको उनले बताए । कमलले विकास र समृद्धि शिक्षा बिना सम्भव नरहेको समेत बताए । उनले भने, ‘जनमतले शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण र प्राविधिक शिक्षामा जोड दिनेछ ।’

कमलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी, व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएको बेला शिक्षा क्षेत्रमा विकासका लागि सदनमा निरन्तर आफूले आवाज उठाएको उनको दावी थियो । यहाँका जनताले प्रतिनिधिसभामा निर्वाचित गराए त्यहाँ पनि आवाज उठाउन बन्द नगर्ने प्रतिवद्धता व्यक्त गरे ।