उपेन्द्र यादवलाई चुनाव हराउन देशी विदेशी एजेन्टहरुले डेरा जमाएको सुमनको आरोप

सप्तरी, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चुनाव हराउन सप्तरीमा देशी विदेशी एजेन्टहरुले डेरा जमाएर बसेको दावी गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर–१ को तिलाठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता सुमनले यादवलाई हराउनका लागि देशी विदेशी शक्तिहरु बोराका बोरा पैसा लिएर सप्तरीमा डेरा जमाएर बसेको दावी गरेका हुन् ।
उनीहरुले भ्रम सिर्जना गरेर जनतालाई बहकाउने काम गरिरहेको उनको आरोप छ । तर, यादवलाई हराउने वा जिताउने काम जनताको भएकाले सप्तरी–१ का जनता यादवको पक्षमा मत हाल्न आतुर रहेको जिकिर गरे ।
उपेन्द्र यादवले सप्तरीमा विकास चाहेको र विगतमा नभएका विकास पछिल्लो वर्षको अवधिमा भएको उनको भनाइ छ । तर, विकास नचाहने तत्वहरु उपेन्द्र यादवको विरोधमा लागेको उनले बताए ।
गठबन्धनका उम्मेदवार जेपी ठाकुर सिरहाबाट सप्तरी आएर व्यापार गरिरहेको बताउँदै प्रवक्ता सुमनले भने, ‘उहाँ शुद्ध रुपमा व्यापारी हुनुहुन्छ, राजनीतिसँग उहाँलाई कुनै मतलब छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


