जनकपुरधाम, २४ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेता शरतसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु नै लोसपाको प्रमुख एजेण्डा रहेको बताएका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका भण्डारीले यी एजेण्डा पूरा गर्नकै लागि सत्ता गठबन्धनसँग चुनावी तालमेल गरिएको बताएका हुन् ।

लोसपाले मधेशका साथै देशकै मुख्य समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानकै लागि एमालेसँग मिलेर समेत काम गरेको स्मरण गराउँदै उनले भने, ‘मधेशको समस्या समाधानका लागि हामीले एमाले जस्तो प्रतिगामी दलसँग मिलेर समेत काम गर्यौँ, अब सत्ता गठबन्धनसँग मिलेर मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम गर्नेछौँ ।’

मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजातीको सवालमा लोसपा मात्रै गम्भिर रहेको दावी गर्दै जनताले लोसपामाथी विश्वास गर्ने उनको दावी थियो । ८ लाख नेपाली युवा जो नागरिकताबिना केही गर्न पाईरहेका छैनन्, उनीहरुको समस्या समाधान पनि हाम्रो प्रमुख एजेण्डा रहेको भण्डारीको भनाई थियो ।

महोत्तरी २ को विभिन्न गाउँमा घरदैलोमा पुग्ने क्रममा जनता आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँदै भण्डारीले मतदाताहरु किन भेट्न नआएको मात्रै गुनासो गर्ने गरेको सुनाए ।