जनकपुरधाम, २४ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले गठबन्धनहरुले नयाँ जेनेरेसनलाई राजनीतिक नेतृत्वमा प्रवेश गर्नबाट रोक्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष लालले पहिलेदेखि भइरहेको जेनेरेसन लक कस्ने काम गठबन्धनले पनि गरिरहेको आरोप लगाएका हुन् ।

‘यसलाई हामीले तोड्नै पर्छ, उनले भने, ‘यही चुनौतीलाई स्वीकार गरेर मैदानमा उत्रेको छु । म मात्र बाचुन्जेल नेतृत्वमा रहन्छु, मलाई मात्र भोट दिनु पर्छ भन्ने मानसिकता बोकेका असफल बूढाहरु लोकतन्त्रमा नाकाबन्दी गर्ने षडयन्त्र गरिरहेका छन् ।’

उनले आफूहरुले लोकतन्त्र र बहुदलीय व्यवस्थाको निमित्त संघर्ष गरेपनि अहिले बहुदलीयताको घाँटी रेट्ने काम भइरहेको आरोप लगाए ।

उनले भने, ‘राजनीतिक दलहरुलाई अघोषित प्रतिबन्ध लगाउने काम भइरहेको छ । मैले बोल्ने हिम्मत गरेको छु । तमलोपाले साहस गरेको छ । तपाईंहरुको आशिर्वाद र समर्थन जरुरी छ ।’

लालले प्रश्न गर्दै भने,‘आफूलाई प्रभावशाली भन्ने नेताहरु किन रोजगार, खेती, शिक्षाको कुरा गर्दैनन् ? यिनीहरु महज सरकारमा जाने रट लगाइरहन्छन् । यिनीहरुले राजनीतिलाई पैसा, भ्रष्टाचार र स्वयं केन्द्रित स्वार्थपूर्तिको साधन मात्र ठानेका छन् ।’