मोरङ, २३ कार्तिक । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क)मा मनोनयन दर्ताका लागि बिहीबार समय तय गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचन अन्तर्गत प्रदेशसभातर्फ मोरङ क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि बिहीबार मनोनयन दर्तासहितको नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिकाअनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको अवस्थामा उम्मेदवार थापाको मृत्यु भएकोले उक्त निर्वाचन क्षेत्रमासम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने उनले बताए ।

बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने उपसचिव भुसालले बताए । कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेद्वारलाई निर्वाचन चिह्न दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुने पनि उनले स्पष्ट पारे ।