काठमाडौं, २३ कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन् ।

बुधबार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताए ।

विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताउँदै उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताए ।

महासचिव वैद्यले राज्यका तीनवटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताउँदै शक्ति पृथकीकरणको सिद्धान्त भनिए पनि तीन अंगबीच शक्ति संघर्ष चलिरहेको बताए ।

निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताउँदै उनले आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेकाले आचारसंहिता नलाग्ने जिकिर गरे । शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै उनले सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश व्यक्त गरे ।

दाहालहरुले प्रतिगमनको विरुद्धमा लडेको भने पनि आफूहरुमाथि प्रतिगमन गरेको उनको आरोप छ । जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका विरुद्ध लड्ने हो भन्दै उनले प्रश्नसमेत गरे ।

कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताए । स्वाधिन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने भन्दै उनले देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्न सकिने बताए ।

मंसिर ४ गते हुने निर्वाचनलाई अवज्ञा गर्न जनतालाई अपिल गर्दै वास्तोलाले मतपेटिका खाली पठाउन जनतालाई आग्रह गरे । वर्तमान सरकार र व्यवस्था नमान्न उनले अपिल गरे ।