सप्तरी, २३ कार्तिक । सप्तरी प्रहरीले बजार क्षेत्रबाट तुल, ब्यानरसहितका निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाएको छ ।

सप्तरी क्षेत्र नम्बर–२ राजविराजमा आचारसंहिताविपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताए ।

सप्तरी–२ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, सत्तारुढ गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।