राजनीतिक स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि गठबन्धन : नेता भण्डारी

महोत्तरी, २२ कार्तिक । महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा सत्तारूढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शरत सिंह भण्डारीले मंगलबार जिल्लाको भङ्गहा नगरपालिकास्थित कबिलासा, बखरी, सिंग्याहीलगायतका ठाउँहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोको क्रममा लोसपाका शीर्ष नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले राजनीतिक स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि शान्ति ल्याउन र संविधान बनाउन सहकार्य गरेका राजनीतिक शक्तिहरू यस निर्वाचनमा एकजुट भएर गठबन्धन निर्माण गरेको बताएका हुन् ।
उनले बहुमतको संसद विघटन गरेर जनमतको अपमान गर्ने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने केपी ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनका उम्मेदवारलाई चुनावमा जिताउन मतदातासँग आग्रहसमेत गरे ।
उनले शान्ति र संविधानलाई कार्यान्वयन गर्दै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन भ्रष्ट्राचारीको संरक्षक ओलीका विरुद्ध गठबन्धन बनेको जिकिर गरे ।
भण्डारीले यसपालीको निर्वाचनमा महोत्तरीमा मात्र नभई देशैभरी सत्तारूढ गठबन्धनले जित्ने दावीसमेत गरे ।
घरदैलोमा भण्डारीसँगै महोत्तरी-२ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जयनुल राईनको पनि उपस्थिति रहेकोे थियो ।
भण्डारीको घरदैलोमा जनताकोसमेत व्यापक सहभागिता देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


