महोत्तरी, २२ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरी-३ बाट उम्मेदवारी दिएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लाल उम्मेदवारहरुसँग मत माग्न घरघरमा पुगेका छन् ।

एकडारा गाउँपालिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर मंगलबार घरदैलो कार्यक्रममा सहभागी हुँदै लालले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन तथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र जनताको आधारभूत आवश्यकता पुरा गर्न आफू उम्मेदवार बनेको बताएका हुन् ।आफू यसअघि राष्ट्रिय सभाको सदस्य बनेर जनताको समस्याबारे पटक पटक आवाज उठाएकोले अब जनताको समस्यालाई समाधान गर्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकोले वातावरण निर्माण गरिदिन मतदाताहरुलाई अनुुरोध गरे ।मतदाता भेटघाटको क्रममा लालले महोत्तरी-३ को स्रोतसाधन परिचालन गरी स्वदेशमै युवा स्वरोजगार सिर्जना गर्न तथा मानव पुँजीको विकासका लागि तमलोपाको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

महोत्तरी क्षेत्र नं. ३ को चुनावी वातावरण प्रत्येक दिन तातिंदै गइरहेको अवस्थामा त्यहाँ अब पोस्टर युद्ध प्रारम्भ भएको देखिएको छ ।एकातिर निर्वाचन आचारसंहिताको खुला उल्लंघन गर्दै एक जना स्वतन्त्र उम्मेदवार निर्वाचन आयोगको कार्यालय अगाडि समेत सम्पूर्ण संसदीय क्षेत्रमा मल्टीकलरका पोस्टर, पर्चा र झण्डाको प्रयोग गरी प्रचारप्रसार गर्दैछन् भने निर्वाचन कार्यालय रहस्यमयी तरिकाले मौन धारण गरेको छ । अर्कोतिर महन्थ ठाकुरका कार्यकर्ताहरु प्रतिद्वन्दी उम्मेदवार तमलोपाका वृषेशचन्द्र लाल र अन्यको समेत पोस्टर उप्काउने कार्यमा लागेका छन् । लागेको पोस्टर उप्काएर आफ्नो पोस्टर त्यसै स्थानमा लगाउने कार्य भइरहेको देखिएको छ ।जलेश्वरका शत्रुधन साहले ठाकुरका प्रचारकहरु अन्य उम्मेदवारहरूको पोस्टर उप्काउन लगाएको बताए । उनले प्रमाण स्वरुप उदाहरणहरु पनि देखाए ।